- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोगलाई सामान्य कानुनी त्रुटि नभई राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेका छन्। उनले शक्ति र पदका आधारमा कोही पनि कानुनी उत्तरदायित्वबाट मुक्त नहुने सन्देश जनमानसमा स्पष्ट पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारले नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गहिरो चोट पुर्याउने बताए। सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा राज्य र नागरिकबीचको भरोसाको सम्बन्ध कमजोर हुने उनको भनाइ थियो। यस्तो प्रवृत्तिले शासन प्रणालीप्रति निराशा पैदा गर्ने, कानुनप्रतिको आस्था घटाउने र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पुर्याउने उनले चेतावनी दिए।
उनले सत्ता, शक्ति र धनप्रतिको अस्वस्थ आकर्षणले प्रक्रिया र प्रणालीको दुरुपयोगमार्फत भ्रष्टाचार बढ्ने उल्लेख गर्दै व्यक्तिगत संकल्प र नैतिक अभ्यासमार्फत यसलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे। “म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ भन्ने दृढ प्रण आवश्यक छ,” उनले भने।
राष्ट्रपति पौडेलले सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शिता र निर्भीकतालाई जीवन पद्धतिका रूपमा आत्मसात् गर्न सके भ्रष्टाचार नियन्त्रण सम्भव हुने धारणा राखे। नीति, पद्धति, प्रविधि र व्यवहारगत सुधारमार्फत अनुशासन र सदाचारयुक्त प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको उल्लेख गर्दै उनले जनअपेक्षाअनुसार विकास र समृद्धि हासिल गर्न सबै प्रकारका भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
संविधान र लोकतान्त्रिक गणतन्त्रको उद्देश्य सहज सेवा प्रवाह र सुशासनमार्फत समृद्धि सुनिश्चित गर्नु रहेको स्मरण गराउँदै उनले युवा पुस्ताले पनि सुशासन र पारदर्शिताका लागि आफ्नो आवाज उठाइरहेको तथ्यलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा प्रतिबद्धताबाट मात्र सफल हुने स्पष्ट पारे। उनका अनुसार यो संघर्ष न्याय, समानता र सुशासनको पक्षमा उभिने अभियान हो, जसले मात्र नागरिकको विश्वास पुनःस्थापित गर्दै भावी पुस्तालाई स्वच्छ र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सकिन्छ।
भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वको कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन आए प्रशासनिक क्षेत्रमा पनि त्यसको प्रभाव देखिने विश्वास व्यक्त गरे।