Thursday, April 16, 2026

अब एक्लै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न पाइने, प्रत्येक ७ पर्यटकमा एक गाइड अनिवार्य


काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि नेपालका निषेधित क्षेत्रमा पदयात्रा गर्दा लाग्दै आएको ‘एकल पदयात्री’ सम्बन्धी नियममा ठूलो परिमार्जन गरेको छ। अध्यागमन विभागले चैत ८ गते निर्णय गर्दै अबदेखि एक जना विदेशी पदयात्रीले पनि निषेधित क्षेत्रमा अनुमति पाउने व्यवस्था लागू गरेको छ।

यसअघि एकल पदयात्रीलाई अनुमति नदिने नियमका कारण पर्यटकले अनिवार्य रूपमा अर्को साझेदार खोज्नुपर्ने बाध्यता थियो। यसले पदयात्रामा जान चाहने कतिपय पर्यटक प्रभावित भएका र पर्यटन प्रवर्द्धनमा असर परेको भन्दै ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) लगायत संस्थाहरूले गुनासो गर्दै आएका थिए। सोही गुनासोलाई सम्बोधन गर्दै अब एकल पदयात्रीका लागि बाटो खुलाइएको हो।

तर, एकल पदयात्रामा जान चाहने विदेशीका लागि केही कडा सर्तहरू तोकिएको छ। अब एकल पदयात्रीले अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र उनीहरूसँग ट्रेकिङ गाइड पनि अनिवार्य हुनुपर्नेछ। पदयात्राको क्रममा हुन सक्ने कुनै पनि आपतकालीन उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्नेछ।

विदेशी पर्यटकको सुरक्षा र निगरानीलाई ध्यान दिँदै विभागले एक गाइडले अधिकतम ७ जना पर्यटकलाई मात्र लैजान पाउने नयाँ मापदण्ड तय गरेको छ। ठूलो समूह हुँदा सुरक्षा र निगरानी चुनौतीपूर्ण हुने भएकाले यस्तो सीमा निर्धारण गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।

त्यस्तै, पदयात्रा अनुमतिका लागि आवेदन प्रक्रिया पनि सहज बनाइएको छ। अब विदेशी नागरिकले आफ्नो मुलुकबाट अनलाइन आवेदन दिन सक्नेछन्। यसअघि स्वीकृत भिसा नम्बर अनिवार्य थियो भने अब भिसा आवेदन नम्बर (सब्मिसन आईडी) का आधारमा पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

नेपालका १३ जिल्लाका विभिन्न क्षेत्रहरूलाई निषेधित क्षेत्रको रूपमा तोकिएको छ, जहाँ जाने विदेशीले अनिवार्य रूपमा अध्यागमन विभागको अनुमति लिनुपर्ने छ। अनलाइन प्रणालीमार्फत सेवा प्राप्त गर्न सजिलो भएपछि विभागले सेवाग्राहीलाई छिटो र झन्झटरहित सुविधा पुग्ने अपेक्षा राखेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like