- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा गरिएको आगजनी र तोडफोडका घटनामा संलग्न व्यक्तिमाथि वर्तमान सरकारले कारबाही नगरेको आरोप लगाएका छन्।
गृहजिल्ला झापामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारले दोषीहरूलाई संरक्षण गरेको दाबी गरे। उनले भने, “अहिलेको सरकार सायद उनीहरूकै सरकार हो, त्यसैले कारबाही गर्नुभन्दा जोगाउने काम भइरहेको छ।”
आन्दोलनको नाममा अरूको घर जलाउने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै ओलीले यस्ता गतिविधिलाई कुनै पनि हालतमा प्रोत्साहन गर्न नहुने बताए। तर, सरकारबाट आवश्यक कारबाही नदेखिएको भन्दै उनले असन्तोष व्यक्त गरे।
“अपराधलाई संरक्षण गर्न सकिँदैन। आन्दोलनका नाममा कसैको घर जलाउन पाइँदैन। सरकारले यस्ता व्यक्तिमाथि कारबाही गर्नुपर्थ्यो, तर अहिलेसम्म केही भएको छैन,” ओलीले भने, “तर समय आउँछ, कारबाहीको समय आउँछ। देशलाई शान्तिपूर्ण र बस्नलायक बनाउनैपर्छ।”