Wednesday, August 26, 2026

यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमण, सरकारी सेनाका ३० सैनिकको मृत्यु


काठमाडौं, २२ साउन — यमनको मध्य तथा पूर्वी क्षेत्रमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणमा सरकारी सेनाका कम्तीमा ३० सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

यमनको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे मारिब र हदरामौत प्रान्तस्थित विभिन्न सैन्य शिविरलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत समन्वित आक्रमण गरिएको हो। पछिल्ला केही वर्षयता दुई पक्षबीच भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।

रक्षा मन्त्रालयले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘विश्वासघाती आक्रमण’को संज्ञा दिएको छ। साथै, उक्त आक्रमणको उचित समय र स्थानमा जवाफ दिइने चेतावनी पनि दिएको छ।

उता, उत्तर–पश्चिमी यमनको ठूलो भूभाग आफ्नो नियन्त्रणमा राखेका हुथी विद्रोहीहरूले भने आफूहरूले साउदी समर्थित सैन्य जमघटलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेका छन्। उनीहरूले अदनको खाडीमा सञ्चालनमा रहेको साउदी अरबको तेल ट्यांकर ‘डेजी’ माथि पनि मिसाइल प्रहार गरिएको बताएका छन्।

सुरक्षा विश्लेषकहरूले पछिल्लो घटनाक्रमले यमनमा पुनः व्यापक गृहयुद्ध भड्किने जोखिम बढाएको बताएका छन्।

यसैबीच, साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनका अनुसार नजरान सीमावर्ती क्षेत्रमा भएको अर्को आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये एक महिला, चार वर्षीय बालकसहित सात जना साउदी नागरिक तथा यमन, पाकिस्तान र इजिप्टका चार जना विदेशी नागरिक रहेका छन्।

यस्तै, बिहीबार साउदी अरबको नजरान क्षेत्रमा भीषण आगलागी पनि भएको छ। आगोको ज्वाला र धुवाँ टाढासम्म देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दमकल तथा उद्धार टोलीले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् भने आगलागीको कारणबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like