Wednesday, August 26, 2026

निम्स दाइसहित दिवंगत पर्वतारोहीको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा


काठमाडौं, १७ साउन — पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ।

निर्मल पुर्जाको जन्मथलो अन्नपूर्ण गाउँपालिका–२ दाना हो। गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

आइतबार जारी गरिएको सूचनामा निर्मल पुर्जाको असामयिक निधनले अन्नपूर्ण गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ।

गाउँपालिकाले नेपाललाई विश्व पर्वतारोहण क्षेत्रमा विशिष्ट पहिचान दिलाउन, नेपाली पर्वतारोहीको गौरव अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने जनाएको छ।

सूचनामा निर्मल पुर्जाको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले पनि अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको गाउँपालिकाले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like