- by समाचार कक्ष
- Mar 06, 2025
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयमा स्वास्थ्य प्रतिवेदनसहित पत्र पठाएका छन्।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री शाहले प्रतिवेदन बुझाएका हुन्।
यसअघि प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिले स्वास्थ्य कारणबाहेक कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नपाउने निर्णय गरेको थियो। स्वास्थ्य कारण भए भने प्रतिवेदनसहित जानकारी गराउनुपर्ने व्यवस्था गरिएको थियो।
प्रधानमन्त्री शाहले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। प्रतिवेदनमा उनलाई उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या रहेको उल्लेख गरिएको छ।
चिकित्सकको सिफारिसअनुसार उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्न र कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको बताइएको छ।
अब बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहको सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको छ। त्यस बैठकमा प्रधानमन्त्री कालो चस्मा लगाएर उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषयसमेत चासोमा परेको छ।