Wednesday, January 22, 2025

घ्याँङस्वारा आन्तरिक पर्यटनको गन्तब्य बन्दै


नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको मध्येविन्दु एवं सङ्घीय राजधानी काठमाडौँबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृष्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो ।

उक्त स्थानमा अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । उनका अनुसार पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बुट्यान–झाडी हटाएर धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा आवश्यक संरचना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसहित उक्त स्थानमा गाउँपालिकाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सहिदको शालिकसहित पार्क निर्माण र पालिकावासीको श्रमदानबाट चियाका बिरुवा रोपण गरेको छ । उपत्यकाका रूपमा रहेको उक्त स्थानमा हरियाली चियाबगान, पानी, बत्ती, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई आकर्षक किसिमले तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउने स्थानीय पुरुषोत्तम खड्काले बताए ।

पछिल्लो पाँच वर्षमा नुवाकोटको उत्कृष्ट गन्तव्यका रूपमा पर्यटकको रोजाइमा घ्याङस्वारा पर्न थालेको खड्काले उल्लेख गरे । “आन्तरिक पर्यटकको आगमन बढेसँगै यसको प्रचारप्रसार पनि भइरहेको छ । काठमाडौँबाट नजिकै पर्ने भएकाले खुला स्थानको खोजीमा रहेकालाई यहाँ आउन, खाजा तथा खाना स्थानीय कृषिउपजको व्यवस्थासहित होमस्टे सञ्चालनमा छन् । साथै स्थानीय उब्जनीको बिक्री बढ्नुका साथै घरबास र होटलको आम्दानी पनि बढ्दै गएको छ”, उनले भने ।

गाउँपालिकाले सरकारी लगानीमा घरबास निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष तामाङले जानकारी दिए । “निजी क्षेत्रबाट पनि आकर्षक होटल तथा रेष्टुरेन्ट र घरबासको निर्माण भइरहेका छन् । गाउँपालिकाले घरबास सञ्चालन र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएको छ । स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ”, उनले भने ।

एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाइ एक हजार सात सयदेखि दुई हजार दुई सय मिटरसम्म रहेको भन्दै यसलाई खुला उपत्यकाका रूपमा चिनिएको अध्यक्ष तामाङले बताए । उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चियाबगानको मध्येविन्दुबाट बनाइएकाले घुमफिरसहित हिन्दु र बौद्धमार्गीको तीर्थस्थलका रूपमा यसको महत्त्व बढेको उनको भनाइ छ ।

पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभञ्याङसम्म कालोपत्रसहितको व्यवस्थित सडक भए पनि करिब पाँच किमी ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडकसहित थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरिरहेको अध्यक्ष तामाङले उल्लेख गरे । 

सोही अनुसार निर्माणाधीन खेल मैदानलाई बहुउद्देश्य रङ्गशाला बनाउने परिकल्पनासहित पूर्वाधार निर्माणमा सोही स्थानबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य भएका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले चासो देखाएको तामाङले बताए । 

पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै गएको घ्याङस्वारामा गाउँपालिकाले गरेकको परिकल्पनामा थप पूर्वाधार निर्माणसहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवं खेलमैदानलाई बहुउद्देश्य रङ्शाला निमार्णमा आफूले पहल गर्ने कांग्रेसका प्रवक्ता डा महतले प्रतिबद्धता जनाएका थिए ।

Super Admin

Super Admin

Please Login to comment in the post!

you may also like