- by समाचार कक्ष
- Mar 06, 2025
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले गोसाइँकुण्डबाट फर्किने यात्रु तथा पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। रसुवाको भोटेकोसी खोलामा आएको आकस्मिक बाढीका कारण धुन्चे–बेत्रावती–त्रिशूली सडकखण्ड क्षतिग्रस्त भई उक्त मार्ग हुँदै आवागमन जोखिमपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।
गोसाइँकुण्ड पदयात्रा तथा दर्शन गरी काठमाडौं फर्किने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले वैकल्पिक मार्ग सार्वजनिक गरेको हो।
गाउँपालिकाका अनुसार गोसाइँकुण्डबाट फर्किने यात्रुले गोसाइँकुण्ड → सूर्यकुण्ड → फेदी → तालु → शिसिपु → घ्याङफेदी → दुप्चेश्वर महादेव → काठमाडौंको मार्ग प्रयोग गर्न सक्नेछन्।
गाउँपालिकाले गोसाइँकुण्डबाट फर्किने यात्रु, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, यातायात व्यवसायी तथा स्थानीय संघ–संस्थालाई यात्रुहरूको सहज आवागमनमा आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरेको छ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै होटल तथा यातायात व्यवसायीलाई पनि प्रचलितभन्दा बढी भाडा नलिन, यात्रुको बाध्यताको फाइदा उठाएर अनुचित शुल्क नलिन तथा टिकट र भाडामा अनियमितता नगर्न गाउँपालिकाले सचेत गराएको छ। त्यस्तो गुनासो वा प्रमाण भेटिएमा कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
गाउँपालिकाले यात्रु तथा तीर्थयात्रीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै सम्बन्धित सबै पक्षलाई समन्वय र सहजीकरणका लागि आग्रह गरेको छ।