- by समाचार कक्ष
- Mar 06, 2025
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको छ। बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टमा उल्लेख छ।
फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै २५९ जना छन्। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार रहेका छन्।
त्यस्तै, ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।
विपद्पछि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी उद्धारमा परिचालित छन्। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।