- by समाचार कक्ष
- Mar 06, 2025
नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि भारतले राहत तथा उद्धारका लागि थप सहयोग पठाएको छ। भारतले ११ टन राहत सामग्रीसहित टनेल रेस्क्यु प्राविधिक टोली र फरेन्सिक विशेषज्ञहरू नेपाल पठाएको हो।
भारतीय वायुसेनाको C-130J विमानमार्फत आएको सहायता खेपमा सुरुङ उद्धारका उपकरण, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ सामग्री छन्। मृतकको पहिचानका लागि डीएनए परीक्षण गर्न फरेन्सिक विशेषज्ञ र आवश्यक उपकरणसमेत ल्याइएको छ।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनका लागि भारतले २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका सामग्रीसहित १६ वटा ट्रक नेपाल पठाएको छ।
थप ७ वटा बेली ब्रिज जडानका सामग्री र प्राविधिक टोलीसमेत पठाउने तयारी भइरहेको भारतीय विदेशमन्त्री एस. जयशंकरले बताएका छन्।
भारतका अनुसार हालसम्म हवाईमार्फत नेपालमा ६८.५ टन राहत सामग्री पुर्याइसकिएको छ। सहयोगमा औषधि, जेनेरेटर, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण छन्।