- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ। तर, नयाँ मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था भने तत्काल चुनौतीपूर्ण देखिएको छ।
ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। करिब १ अर्ब ३४ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको आधुनिक मन्त्री आवास क्षेत्र प्रयोगमा आएको झण्डै एक वर्षमै प्रयोगयोग्य नभएको अवस्थामा पुगेको हो।
सिंहदरबारस्थित संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हाल उक्त परिसरमा बसोबास गर्न सकिने अवस्था छैन। त्यसैले नयाँ सरकार गठन भएपछि मन्त्रीहरूको बसोबासका लागि अस्थायी वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ।
काठमाडौं उपत्यकाभित्र आफ्नै घर भएका मन्त्रीहरूले आफ्नै निवास प्रयोग गर्न सक्नेछन् भने अन्य मन्त्रीहरूका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाउने योजना बनाइएको छ।
क्षतिग्रस्त मन्त्री निवास परिसरको पुनर्निर्माण प्रक्रिया भने सुरु भइसकेको छ। २७ वटा भवन रहेको उक्त क्षेत्रमा बढी क्षति पुगेका भवनहरूको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।
सरकारले मन्त्री निवास पुनर्निर्माण कार्य आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।