Monday, August 31, 2026

रसुवा बाढीका ६० शव त्रिवि शिक्षण अस्पतालमा, शवगृह भरिन लाग्यो


भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेसँगै काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा चाप बढेको छ।

फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार अहिलेसम्म रसुवा बाढीका ६० वटा शव अस्पताल ल्याइएको छ। तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटा शवको पोस्टमार्टम भइरहेको छ।

अस्पतालको कुल क्षमता १५० शवको भए पनि यसअघि नै ८० वटा शव रहेको र नयाँ शवका लागि करिब ७० स्थान मात्र उपलब्ध रहेको अस्पतालले जनाएको छ। अब थप १० वटा शव आएपछि शवगृहको उपलब्ध क्षमता भरिने अवस्था रहेको छ।

बाढीमा ज्यान गुमाएकाहरूका शवमध्ये अधिकांश क्षतविक्षत र कुहिएको अवस्थामा फेला परेको बताइएको छ। यस्तो अवस्थामा शव पहिचान गर्न कठिन भइरहेको फोरेन्सिक विज्ञहरूले बताएका छन्।

शवको संख्या अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै डा. चौधरीले सरकारले तत्काल अस्थायी शव भण्डारणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like