- by समाचार कक्ष
- Mar 06, 2025
धनगढी, २६ फागुन। कैलाली जिल्लामा निर्वाचनमा प्रतिस्पर्धा गरेका ७५ जना उम्मेदवारमध्ये हालसम्म एक जनाले मात्र आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली क्षेत्र नम्बर ५ बाट उज्यालो पार्टी नेपालका उम्मेदवार चन्द्र साउँदले मतगणना सकिएको दोस्रो दिन अर्थात् आइतबार नै खर्च विवरण पेश गरेका हुन्। उनी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार बनेका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण यही कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। तर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका उम्मेदवारहरूले भने आफ्नो सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्नुपर्ने हुन्छ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार हालसम्म कैलालीबाट एक जना उम्मेदवारको मात्र खर्च विवरण प्राप्त भएको छ भने अन्य उम्मेदवारबाट विवरण आउने क्रम जारी रहेको छ।