Tuesday, September 1, 2026

भोटेकोसी र त्रिशूलीको बहाव घटे पनि अझै उच्च सतर्कता आवश्यक, काठमाडौंसहित २४ जिल्लामा बाढीको चेतावनी


हिजो आएको ठूलो बाढीपछि भोटेकोसी र त्रिशूली नदीको बहाव अहिले सतर्कता तहभन्दा तल झरेको छ। तर नदीको अवस्था अझै जोखिमपूर्ण हुनसक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीको बहाव अहिले सतर्कता तहभन्दा तल छ। यद्यपि, आगामी तीन दिन केही प्रमुख नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

सुनकोसी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीमा आजदेखि पर्सीसम्म पानीको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। अन्य केही नदीमा भने जलसतह सामान्य रूपमा बढ्ने अनुमान छ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्कीका स–साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बताइएको छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

त्यस्तै, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेतलगायत क्षेत्रमा पनि स–साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ। भोलि र पर्सी विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like